Blog

  • चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा सुरु

    चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा सुरु

    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो ।

    रोबोटिक तथा युरो सर्जन डा.प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरु डा.विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ । अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिसकिएको अस्पतालले जनाएको छ ।

    सिनियर कन्सल्ट्यान्ट रोबोटिक तथा युरो सर्जन डा. गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उहाँले भन्नुभयो, ‘रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो ।’ रोबोटले नै सबै शल्यक्रिया गर्ने नभई सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गरिने उहाँको भनाइ छ ।

    चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूका माध्यमबाट शल्यक्रिया गरिने उहाँले स्पष्ट पार्नुभयो । परम्परागत प्रविधिको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रुपमा संवेदनशील र जटिल उपचार गर्न सकिने डा गुरुङको भनाइ छ ।

    न्यूनतम पीडा, कम रक्तश्राव, छोटो अस्पताल बसाइँ र छिटो निको हुने अवसर प्रदान गर्ने यस प्रविधिबाट विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी भएको डा गुरुङले बताउनुभयो ।

    रोबोटिक सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने जनाउँदै उहाँले भन्नुभयो, ‘यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सुक्ष्म शल्यक्रिया गर्न सक्छन् ।’ यसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र शल्यक्रियाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुने डा. गुरुङको भनाइ छ ।

    सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने भएकाले पनि धेरै बिरामीको चाहना यही प्रविधि हुने उहाँको भनाइ छ । अन्य प्रविधिबाट असम्भव हुने शल्यक्रिया पनि यस प्रविधिबाट गर्न सकिने डा. गुरुङको भनाइ छ ।

    सिनियर कन्सल्ट्यान्ट रोबोटिक तथा युरो सर्जन डा.प्रतीकमान सिंह गुरुङ

    रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने भन्दै उनले यही कारणले गर्दा शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने बताउनुभयो । उनले अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोबोटिक शल्यक्रियामा एकदमै अत्याधुनिक कम्प्युटर प्रणाली भएका कारण गतिविधि एकदम छरितो हुन्छन्, त्यसैले गर्दा ठूलो ठूलो शल्यक्रियामा धेरै फाइदा हुन्छ ।’

    रोबोटिक शल्यक्रिया गर्दा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा नै हुने डा.गुरुङको भनाइ छ ।

    मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले यहाँ भित्रिएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको बताउनुभयो ।

    उनले  रु ३२ करोड लागतमा यो प्रविधि भित्र्याइएको जानकारी दिए । उहाँले भन्नुभयो, ‘यो प्रविधि चाइनामा निर्मित युरोपियन सेफ्टी ‘सर्टिफिकेशन’ पास गरेको छ, जसले यसको उच्च सुरक्षा मापदण्ड पुष्टि गर्दछ ।’ रासस

  • नेपाल प्रिमियर लिग ‘एनपिएल’ को सम्पूर्ण तयारी पूरा

    नेपाल प्रिमियर लिग ‘एनपिएल’ को सम्पूर्ण तयारी पूरा

    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

    त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।

    एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

  • नेपाल–चीन सम्बन्ध अझ सुधारको दिशामा अग्रसर छ’

    नेपाल–चीन सम्बन्ध अझ सुधारको दिशामा अग्रसर छ’

    नेपालका निम्ति चिनियाँ राजदूत चेन सोङले परिवर्तित परिस्थितिमा दुवै देशबिचको सम्बन्ध अझ सुधारको दिशामा अग्रसर रहेको बताउनुभएको छ । नेपालमा जेनजीले उठाएका सुशासन, भ्रष्टाचारमुक्त समाज, तीव्रत्तर आर्थिक विकास जस्ता माग कार्यान्वयनले दुवै देशलाई सँगै मिलेर अघि बढ्ने मार्ग फराकिलो हुने उहाँको धारणा छ ।

    यसले दुई देशबिचको सम्बन्ध अझ घनिष्ठ बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो । सम्पादक तथा मिडियाका उच्च नेतृत्वसँग शुक्रबार काठमाडौँमा चीनको १५ औँ पञ्चवर्षीय योजनाबारे गरिएको अन्तरसंवादका क्रममा राजदूत चेनले सन् १९२० मा नवपुस्ताले नै कम्युनिस्ट पार्टी स्थापना गरी चीनमा परिवर्तन सम्भव भएको इतिहास स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो, “विश्वभरै नवपुस्ता परिवर्तनका निम्ति अग्रसर हुन्छन् । नेपालमा जेनजीको आन्दोलन परिवर्तनका निम्ति हो, यसले सुधारको दिशामा काम गर्ने विश्वास छ ।” विशुद्ध नेपालका जेनजीको आन्दोलनमा कतिपय स्वार्थी तत्वले अनेक खेल्न खोजे पनि तिनीहरू आफैँ हराउने भन्दै उहाँले वर्तमान अन्तरिम सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको आफूले पाएको स्पष्ट पार्नुभयो ।

    राजदूत चेनले नेपाल र चीन दुवै असंलग्नताको सिद्धान्तमा अडिग रहेको भन्दै सँगै मिलेर पारस्परिक हित र आर्थिक विकासका क्षेत्रमा अझ धेरै काम गर्न सक्ने बताउनुभयो । चीनले अपवादबाहेक सबै पञ्चवर्षीय योजनाको लक्ष्य हासिल गर्न सकेको भन्दै उहाँले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा चीनको अनुभव र भूमिका सदैव सहयोगी रहने विश्वास व्यक्त गर्नुभयो ।  रासस

  • प्रधानमन्त्रीलाई जेनजीको ११ बुँदे एकीकृत सम्झौतापत्र

    प्रधानमन्त्रीलाई जेनजीको ११ बुँदे एकीकृत सम्झौतापत्र

    जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातै प्रदेशका संयोजकले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन्।

    शुक्रबार जेनजी मुभमेन्ट अलायन्स काउन्सिल अफ जेनजीका सात प्रदेशका संयोजक प्रधानमन्त्री कार्कीलाई जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबिचको प्रस्तावित ११ बुँदे प्रस्ताव  हस्तान्तरण गरेका हुन्।

    संयोजकहरुले प्रधानमन्त्रीलाई तत्काल संवाद प्रक्रियालाई स्थायी आधारमा अघि बढाउन तथा आन्दोलनका कारण उत्पन्न राजनीतिक द्वन्द्व समाधानका लागि सकारात्मक कदम चाल्न आग्रह गरेका छन्।

     जेनजीका मागहरु:

    • मस्यौदाको पहिलो मुख्य प्रस्ताव नै आन्दोलनका क्रममा मारिएका नागरिकलाई शहीद घोषणा गर्ने भन्ने छ। शहीद परिवार र घाइतेहरूको तत्काल राहत सुनिश्चित गर्न जेनजीका तीन समूहले भनेका छन्।
    • घाइते र शहीद परिवारका समस्यामा दीर्घकालीन सम्बोधन गर्ने नीतिगत संरचना बनाउने पनि उल्लेख छ। यसका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने प्रस्ताव जेनजीको छ, जसमा शहीद परिवारको प्रत्यक्ष सहभागिता रहनेछ।
    • वि.स. २०८२ साल भाद्र महिना २३ देखि २५ गते जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको क्रुर दमन, हिसा र प्रहरी बर्बरताबाट जनसंहार गरिएका आन्दोलनकारी र सर्वसाधारणलाई शहीद घोषणा गर्नुपर्ने’ विषय मस्यौदामा उल्लेख गरिएको छ।
    • दोस्रो महत्वपूर्ण प्रस्ताव भदौ २३ देखि २५ सम्म भएका घटनाको निष्पक्ष छानबिन हो । सरकारले गठन गरेको जाँचबुझ आयोगलाई शीघ्र र निष्पक्ष रूपमा काम गर्न निर्देशन गरिएको छ । मानवअधिकार उल्लंघनमा संलग्नलाई अभियोजन गर्नुपर्ने विषय त्यसमा समेटिएको छ।
    • मस्यौदामा उल्लेख भएअनुसार, संक्रमणकालीन न्यायका सिद्धान्तअनुसार सत्य–निरूपण र मेलमिलापको प्रक्रिया अपनाउन भनिएको छ। जेन–जी आन्दोलनसँग सम्बन्धित जघन्य अपराधबाहेकका अन्य मुद्दामा पक्राउ परेका थुनुवा तत्काल थुनामुक्त गर्नुपर्ने उल्लेख पनि ड्राफ्टमा गरिएको छ।
    • आन्दोलनका समयमा भएको हिंसात्मक गतिविधिको छानबिन गर्नलाई एउटा स्वतन्त्र आयोग गठन गर्नुपर्ने विषय उक्त मस्यौदामा छ।
    • ‘जेनजी तथा यवा समहको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार काननु र संक्रमणकालीन न्याय तथा द्वन्द्व व्यवस्थापन विशेषज्ञहरु भएको एक सक्षम र स्वतन्त्र न्यायिक आयोग गठन गर्ने, सो आयोगले उल्लिखित घटनाको बारेमा निष्पक्ष रुपमा अनसन्धान गरी सजायको मागदाबी सहित अभियोजनको सिफारिस समेत गर्ने,’ उल्लेख गर्दै जेनजीको मस्यौदामा भनिएको छ, ‘जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा यस आयोगबाहेक अन्य कुनै निकायले क्षेत्राधिकार ग्रहण गर्न नपाउने र आयोगले सिफारिस गरेका घटनाहरु बाहेक अरु कुनै घटनामाथि भविष्यमा कुनै पनि निकायले अभियोजन गर्न नपाईने व्यवस्था गरिनेछ।’
    • मस्यौदामा उल्लेख भएअनुसार यस आयोगले ९० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । सुरक्षा निकायमा देखिएका कमजोरी पहिचान गरी संस्थागत सुधार गर्नुपर्ने प्रस्ताव पनि मस्यौदामा छ।
    • गैरकानुनी बलप्रयोग दोहोरिन नदिन कानुनी र संरचनागत कमजोरीहरू विश्लेषण गर्ने संयन्त्र बनाउने भनिएको छ । यसले भविष्यका जनअधिकार र स्वतन्त्र अभिव्यक्तिमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास जेनजी समूहको छ।
    • त्यस्तै, भ्रष्टाचारको विरोध गर्दै सुशासनको लागि सडकमा आएका जेनजीले सार्वजनिक पदमा रहेकाहरूको जीवनशैली, आयस्रोत र सम्पत्तिको विस्तृत छानबिन गर्न भनेका छन्।
    • भ्रष्टाचार र दलीय भागबण्डाका आधारमा हुने नियुक्ति अन्त्य गर्न कानुनी सुधार गर्नुपर्ने विषय मस्यौदामा उल्लेख छ । दलहरूले सार्वजनिक स्रोत प्रयोग गरी बनाएका प्रतिष्ठान र कोषलाई राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव समेत प्रस्तावित सम्झौतापत्रमा छ । मस्यौदाअनुसार, अख्तियारलाई प्रत्यक्ष उजुरी लिनसक्ने संरचना बनाइनुपर्नेछ।
    • प्राप्त भएका सबै उजुरीकर्ताहरुको गोपनीयता कायम गरी ३० दिनभित्र प्रारम्भिक अनुसन्धान गरी सोको अध्यावधिक राखी सार्वजनिक माध्यमबाट अनिवार्य जानकारी गराउनुपर्ने उल्लेख छ।
    • यसबाहेक आगामी निर्वाचनमा मतदाता नामावली अद्यावधिक सहज बनाउनुपर्ने माग जेनजीको छ । प्रवासी नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने माग छ।
    • चुनावी खर्च पारदर्शी बनाउन दलहरूलाई कानुनी रूपमा बाध्य बनाइनेछ। स्रोत नखुल्ने सम्पत्ति भएका नेताहरूलाई प्रतिस्पर्धाबाट रोक्नुपर्ने उल्लेख छ। प्रतिनिधिसभा चुनावमा पूर्ण समानुपातिक प्रतिनिधित्व लागू गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्न भनिएको छ।
    • साथै, नोटा अर्थात् राइट टु रिजेक्ट र प्राइमरी इलेक्सनको व्यवस्था अनिवार्य गर्नुपर्ने माग गरिएको छ । यसले चुनावी प्रक्रियामा व्यापक परिवर्तन ल्याउने विश्वास जेनजीको छ।
    • संविधान संशोधनबारे उक्त मस्यौदामा उल्लेख गरिएको छ। तर, यसको लागि स्वतन्त्र र उच्चस्तरीय आयोग गठन गर्नुपर्ने प्रस्ताव छ । आयोगले पूर्ण समानुपातिक प्रतिनिधित्व, प्रत्यक्ष कार्यकारी राष्ट्राध्यक्ष, कार्यकाल सीमा, सांसदको उमेर सीमा र संवैधानिक निकायलाई राजनीति हस्तक्षेपबाट मुक्त गर्ने विषयमा अध्ययन गर्नेछ । देशभर नागरिक छलफल गरेर सुझाव संकलन गर्नुपर्ने उल्लेख छ।
    • ‘संविधान सुधार आयोगले आफ्नो अध्ययन गर्दा नेपालका विभिन्न स्थानीय तहमा समेत छलफल गराई वृहत रुपमा जनमत संकलन गरी, न्यायपर्ण र प्रतिनिधिमूलक तवरले सुझावहरु तयार गर्नुपर्नेछ। र, सो कार्यदलले जेनजी तथा युवा समूहको कार्यदलसँग समन्वय गरी काम गर्नुपर्ने’ विषय प्रस्तावित मस्यौदामा उल्लेख गरिएको छ।
    • त्यस्तै, मन्त्रिपरिषद् र अन्य संयन्त्रमा महिला, दलित, आदिवासी, मधेसी, थारु, मुस्लिम, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, विभिन्न लैङ्गिक पहिचान राख्ने समुदाय, किसान, श्रमिक तथा आर्थिक रूपमा विपन्न वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने छ।
    • यसबाहेक अगामी दिनमा गठन हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा ३५ वर्षसम्मका युवाको सल्लाहकार समिति अनिवार्य गर्न भनिएको छ । यसले युवा नेतृत्वको सहभागिता औपचारिक बनाउने विश्वास यी तीन जेनजी समूहको छ।
    • मस्यौदामा उल्लेख भएअनुसार सरकारले सबै निर्णय, खर्च र प्रक्रियालाई सार्वजनिक गर्नुपर्नेछ। हप्तामा एक पटक मिडिया संवाद अनिवार्य गरिनेछ । त्यस्तै, ईन्टरनेटमा सेन्सरशिप, गैरकानुनी नियन्त्रण वा निगरानी हुन नदिने उल्लेख छ। नागरिकको डिजिटल डेटा सुरक्षित राख्न कानुनी र प्राविधिक सुधार अनिवार्य हुनुपर्नेछ।
    • ‘यस सम्झौतामा उल्लेख गरिएका सहमतिको कार्यान्वयन तथा त्यसको अनगमनको लागि सरकार र जेनजीका तर्फबाट आपसी सहमतिमा प्रवुद्ध नागरिक सम्मिलित समिति गठन गरिने,’ उल्लेख गर्दै जेनजीको मस्यौदामा भनिएको छ, ‘अनुगमन समितिलाई पूर्णरूपमा सहयोग गर्न र अनगमनका आधारमा दिएका सुझावहरु पालना तथा कार्यान्वयन गर्न दुवै पक्षको सहमती हुनेछ।’
  • निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ताको समय थप

    निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ताको समय थप

    आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप गरेको छ ।

    आयोगले पाँच दिन समय बढाउँदै आगामी मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

    आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेकोमा मतदाता नामावली दर्ता समय थपिएको प्रवक्ता भट्टराइले बताउनुभयो ।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको थियो ।

    आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोनमा कुरा गर्नुहुँदै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीको आग्रहपछि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पाँच दिन म्याद थप्न सकारात्मक रहेको जवाफ दिनुभएको थियो ।

    यस्तै प्रधानमन्त्री कार्कीले ‘इन्टरनेट सर्भर’मा देखिएको समस्याका विषयमा पनि आयोगसँग चासो व्यक्त गर्नुभएको थियो ।   रासस

  • ‘अन्तरनिर्वाचन क्षेत्रमा मतदानको व्यवस्था आवश्यक छ’

    ‘अन्तरनिर्वाचन क्षेत्रमा मतदानको व्यवस्था आवश्यक छ’

    अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका सम्बन्धमा सरोकारवालासँग प्रधानमन्त्रीको छलफल ।

    प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्रमा मतदानको व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उहाँले सरोकारवालासँग अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका सम्बन्धमा छलफल गर्नुभएको हो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मतदाता ओसार्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूमाथि आर्थिक भार निकै ठूलो परिरहेको र त्यसले भ्रष्टाचारलगायत अरु बेथिति पनि देखापरेको छ, यसका लागि एउटा सुदृढ कदम चाल्नुपर्ने आवश्यकता छ ।”

    पुरानै तरिकाको निर्वाचन गर्ने हो भने त जेनजी आन्दोलन गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले एउटा सन्देशयुक्त काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    “भोलिका लागि पनि प्रणाली स्थापित गरौँ, हामीले गर्न खोजेको पहलमा राजनीतिक तहको समझदारी पनि हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबै पक्ष तयार हुनुपर्छ, हाम्रा सन्तान डिजिटल साक्षरतामा धेरै अगाडि छन् । राजनीतिक नेतृत्व यो कुरा बुझ्न कति तयार हुनुपर्छ ।”

    छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहका अधिकारीहरु, कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो ।

    त्यस अवसरमा नीति अनुसन्धान प्रतिष्ठानले देशबाहिर र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट मतदानका लागि सम्भावित विकल्पका विषयमा आफ्नो अध्ययनको सारांश प्रस्तुत गरेको थियो ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले पनि विगतका निर्वाचनभन्दा यसपालि केही न केही फड्को मार्नैपर्ने बताउनुभयो ।

    छलफलपछि अन्तरनिर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगका सम्बन्धमा गर्न सकिने काम, लागत र कानुनी संरचनाका विषयमा सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना र निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित संयन्त्र बनाइएको छ । रासस

  • अमेरिकामा ४३ दिन लामो सरकारको खर्चबिहिन अवस्थाको अन्त्य

    अमेरिकामा ४३ दिन लामो सरकारको खर्चबिहिन अवस्थाको अन्त्य

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै सबैभन्दा लामो सरकार सट-डाउनको अन्त्य गर्दै विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

    अमेरिकाको इतिहासमा गत अक्टोबरमा १ खर्चसम्बन्धी विधेयक पारित नहुँदा सरकार ४३ दिन खर्च गर्न नपाउने अर्थात् सट-डाउनको अवस्थामा रहेको थियो ।

    अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा भएको मतदानमा ६ जना डेमोक्र्याट सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् ।

    डेमोक्र्याट सांसदको सहयोगमा सोमबार सिनेटबाट पारित भएको विधेयक तल्लो सदनमा पनि डेमोक्र्याटहरुको सहयोगमा पारित भएको हो ।

    मतदानमा विधेयकको पक्षमा २ सय २२ मत र विपक्षमा २ सय ९ मत परेको छ । सट- डाउनका कारण अमेरिकाका १४ लाख कर्मचारीले तलब नपाउने अवस्था आएको थियो ।

    धेरै कर्मचारी बेतलबी बिदामा बसेका थिए भने कतिपयले बिना तलब काम गर्न बाध्य भएका थिए । सरकार खर्चबिहिन हुँदा हजारौं अमेरिकी उडान समेत प्रभावित भएका थिए । रासस / रोयटर्स

  • एनपिएल अक्सन : चार क्रिकेटरलाई अधिकतम रकम

    एनपिएल अक्सन : चार क्रिकेटरलाई अधिकतम रकम

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) सुरु गर्‍यो । भव्य रूपमा सफल भएपछि एनपिएललाई पहिलो संस्करणमै भारतको आइपिएलसँग तुलना गर्न थालियो । एनपिएल पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको थियो । त्यसैले पनि एनपिएलको दोस्रो संस्करण बहुप्रतिक्षीत बनेको छ ।

    त्यसैले एनपिएलको दोस्रो संस्करणका लागि भएको क्रिकेटर बोलकबोल (अक्सन) मा पनि सबैको नजर रह्यो । फ्रेन्चाई क्रिकेट लिगको प्रमुख विशेषतामध्ये एक क्रिकेटर बोलकबोल (अक्सन) बाट खेलाडी आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले खेलाडी अक्सनबाट खेलाडीलाई आआफ्नो टिममा भित्र्याएका छन् । एनपिएलका आठै टिमले पहिलो संस्करणमा आआफ्नो टिमबाट खेल्ने पाँचदेखि छ खेलाडी रिटेन गरिसकेकाले यसपालिको अक्सन मिनी अक्सन बनेको थियो । यस पटक क्यानले क्याटगोरी ‘ए’ मा आठ खेलाडी, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी राखेका थिए ।

    खेलाडी बोलकबोलमा ‘ए’ क्याटागोरीमा रहेका आठमध्ये चार जना देव खनाल, अर्जुन साउद, पवन सराफ र आदिल अलाम सर्वाधिक १५ लाख रुपियाँमा अनुबन्धित हुनुभयो । यस समूहमा ‘बेस प्राइस’ १० लाख रुपियाँ रहेको थियो । यसैगरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम १० लाख तथा ‘सी’ ग्रेडका क्रिकेटका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो । अक्सनबाट कुल ३७ क्रिकेटर बिक्री भए ।

    सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले पाँच/पाँच र पोखरा एभेन्जर्स, कर्णाली याक्स र च्याम्पियन जनकपुर बोल्ट्सले चार/चार खेलाडी आआफ्नो टिममा भित्र्याएर घरेलु क्रिकेटरको कोटा पूरा गरे । एनपिएलको नियम अनुसार सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो । जसमध्ये प्रायः टिमले आधाभन्दा बढी रकम खेलाडी रिटेनमै खर्च गरिसकेको थियो । विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन । सबै टिममसक्ष अझै अधिकतम पाँच विदेशी खेलाडी टिममा भित्र्याउने अवसर छ ।

    आदिल सबै टिमको रोजाइमा

    स्पट फिक्सिङ निलम्बनबाट फुकुवा भएका अलराउन्डर आदिलले लामो समयपछि खुसी हुने अवसर पाउनुभयो । प्रमुख प्रतियोगितामा पुनरागमनको तयारीमा रहेको आक्रामक ब्याट्सम्यान आदिलमाथि आठै टिमले इच्छा देखाएका थिए । उहाँ गोलाप्रथामार्फत काठमाडौँ गोर्खाजमा आबद्ध हुनुभयो । दुई वर्षअघि नेपाल टी–२० लिगमा स्पट फिक्सिङ प्रकरणमा आदिल फस्नुभएको थियो । त्यसैले उहाँले एनपिएलको पहिलो सत्र खेल्न पाउनुभएन ।

    यसअघि सबभन्दा पहिले यु–१९ राष्ट्रिय टिमका पूर्वकप्तान देव लक्की ड्रबाट चितवनमा पुग्नुभएको थियो । उहाँलाई लुम्बिनीले पनि अन्तिमसम्म बोली लगाएको थियो । अर्का प्रारम्भिक ब्याट्सम्यान अर्जुनलाई आआफ्नो टिममा ल्याउन चितवन, विराटनगर र कर्णाली अधिकतम रकममा पुगेका थिए । अर्जुनको मामिलामा पनि चितवन लक्की ड्रमा भाग्यमानी बन्यो ।

    पवनमाथि चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले बोली लगाए । जसमा कर्णाली लक्की ड्रमा पवनलाई भिœयाउन सफल भयो । गत सत्रमा अलराउन्डर पवन चोटका कारण अक्सनमै समावेश हुनुभएको थिएन । ‘ए’ क्याटोगोरीका अन्य खेलाडी विकेटकिपर ब्याट्सम्यान दिलीप नाथ र स्पिनर सूर्य तामाङ बेस प्राइस दस लाखमा क्रमशः लुम्बिनी र विराटनगरमा पुग्नुभयो ।

    ‘विस लिस्ट’ बाट टिम पूरा

    अक्सनको पहिलो चरण सकिएपछि अनसोल्ड क्रिकेटरमध्येबाट टिम पूरा गर्न विस लिस्टको प्रावधान पनि थियो । काठमाडौँ र कर्णालीले अक्सन प्रक्रियाबाट अक्सनबाटै आफ्नो टोली पूरा गरेका थिए । बाँकी छ टिमले टिम पूरा गर्न सकेका थिएनन् । चितवनले विपिन रावल, विपिन आचार्य र रञ्चित कुमार र विराटनगरले श्रवण किस्कु र शङ्कर रानालाई विस लिस्टबाट आआफ्नो टिममा भित्र्यायो । यसै गरी लुम्बिनीले दुर्गेस गुप्ता र आदिल खान, सुदूरपश्चिमले दीपक बोहरा र मिलान बोहरा, जनकपुरले विकास आग्री तथा पोखराले सन्दीप क्षेत्रीलाई विस लिस्टबाट खरिद गरे ।

    मिति र पुरस्कारको घोषणा बाँकी

    एनपिएलमा एक टिममा १७ खेलाडी हुने छन् । जसमा एक मार्की, एक स्थानीय आइकोनिक खेलाडी, १० खेलाडी अक्सनबाट र पाँच विदेशी रहने प्रावधान रहेको छ । नेपालको सर्वाधिक ठुलो धनराशिको क्रिकेट प्रतियोगिता एनपिएलको मिति र पुरस्कार घोषणा भने भएको छैन ।

    अक्सनमा बिक्री भएका क्रिकेटर

    काठमाडौँः आदिल आलम (१५ लाख), सन्तोष यादव (१० लाख), आकास त्रिपाठी (सात लाख), उत्तम थापामगर (तीन लाख), तुलबहादुर थापा (दुई लाख) ।

    चितवनः देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (पाँच लाख), विपिन आचार्य (दुई लाख), रञ्जित कुमार (दुई लाख) ।

    लुम्बिनी : दिलीप नाथ (१० लाख), शेर मल्ल (१० लाख), दुर्गेस गुप्ता (पाँच लाख), विशाल पटेल (पाँच लाख), आदिल खान (दुई लाख) ।

    कर्णाली याक्स : पवन सराफ (१५ लाख), युवराज खत्री (१० लाख), इमरान शेख (दुई लाख), दीपक डुम्रे (दुई लाख) ।

    विराटनगर : सूर्य तामाङ (१० लाख), साहिल पटेल (पाँच लाख), नारायण जोशी (पाँच लाख), शङ्कर राना (पाँच लाख), श्रवन किस्कु (दुई लाख) ।

    पोखरा : अर्जुन कुमाल (पाँच लाख), अभिषेक तिवारी (दुई लाख), कृष्ण पौडेल (दुई लाख), सन्दीप खत्री क्षेत्री (दुई लाख) ।

    जनकपुर : मयन यादव (सात लाख ७५ हजार), विकास आग्री (पाँच लाख), आदित्य महता (पाँच लाख), सचिन भट्ट (दुई लाख)

    सुदूरपश्चिम : हेमन्त धामी (१० लाख), दीपक बोहरा (पाँच लाख), मिलन बोहरा (पाँच लाख), टेकबहादुर रावत (दुई लाख) र दीपेन्द्र थापा (दुई लाख) । रासस

  • नेपाल र भारतबीच अब सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

    नेपाल र भारतबीच अब सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

    नेपाल-भारत पारवहन सन्धिको प्रोटोकल संशोधन पछि अब विराटनगर र भैरहवासम्म कार्गो ढुवानी।

    भारतको कोलकाता बन्दरगाह र विशाखापट्टनम बन्दरगाहबाट नेपालको विराटनगर र भैरहवासम्म सबै किसिमको कार्गो ढुवानी गर्न पाइने भएको छ । यसअघि भारततर्फबाट यी दुई भन्सार नाकामा चार वटा बल्क कार्गो मात्र ढुवानी हुँदै आएकामा अब भने सबै किसिमका कार्गो ढुवानी गर्ने गरी दुई देशबिच सहमति भएको हो ।

    नेपाल र भारतबिच सम्पन्न पारवहन सन्धिको प्रोटोकलमा संशोधन गरी यो नयाँ व्यवस्था थप गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबिच बिहीबार भारतको नयाँ दिल्लीमा भएको भेटका क्रममा प्रोटोकलमा संशोधन गरिएको हो । संशोधन गर्ने विषयको समझदारीपत्र सोही क्रममा आदानप्रदान भएको थियो ।

    समझदारीपत्र अनुसार अहिले भारततर्फको जोगबनीसम्म रेलमार्फत कार्गो ढुवानी भइरहेकामा त्यसलाई नेपालको विराटनगरस्थित भन्सार कार्यालय परिसरसम्म रेलबाट ल्याउने व्यवस्था हुने छ । यसले आयातकर्ताको ठुलो रकम बचत हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । “जोगबनीदेखि सामान अनलोड गरेर सडकमार्गबाट विराटनगरसम्म ल्याउनुपर्ने बाध्यता यो संशोधन कार्यान्वयनपछि अन्त्य हुने छ,” उहाँले भन्नुभयो, “यसले नेपाली आयातकर्ताको ठुलो रकम पनि बचत हुने छ ।”

    त्यस्तै भारतको नौतनवासम्म रेलमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै भैरहवासम्म चार किसिमका मात्र बल्क कार्गो ढुवानी गर्न पाउने व्यवस्था भएकामा अब भने सबै किसिमका कार्गो ढुवानी गर्न पाउने सुविधा संशोधनले थप गरेको छ । यससँगै भैरहवासम्म रासायनिक मल, कोइला, सिमेन्ट र क्लिङ्करको मात्र बल्क कार्गो ढुवानी हुँदै आएकामा अब भने सबै किसिमका वस्तु आयात गर्न पाइने भएको छ । यो सुविधा विराटनगरको भन्सारमा पनि लागु हुने छ । यसअघि वीरगन्जको रक्सौलबाट मात्र सबै किसिमको कार्गो आयात गर्न पाउने सुविधा थियो ।

    बल्क कार्गो मात्र ढुवानी गर्न पाउने बाध्यताका कारण आयातकर्ताले भैरहवा र विराटनगरबाट अन्य सामान आयात गर्न पाउने अवस्था थिएन । संशोधनपछि तोकिएका चार वटा वस्तुबाहेक फरक फरक सामान राखेर पनि कन्टेनर ल्याउन पाउने सुविधा आयातकर्तालाई हुने छ । प्रोटोकलमा भएको संशोधन तत्काल कार्यान्वयनमा आउने छ । संशोधनका लागि मन्त्रीपरिषद्ले स्वीकृति दिएकाले नयाँ व्यवस्था छिटै कार्यान्वयमा आउने सचिव घिमिरेले जानकारी दिनुभयो । समझदारीपत्र आदानप्रदानका क्रममा उद्योगमन्त्री सिन्हाले व्यापार तथा पारवहन सहजीकरण गर्न प्रमाणीकरण प्रक्रिया सरलीकरण र पारवहन व्यवस्थामा सुधार ल्याउनुपर्ने विषयलाई जोड दिनुभयो । त्यस्तै उहाँले द्विपक्षीय व्यापार तथा पारवहन व्यवस्थामा सुधार तथा लगानी प्रवर्धनका लागि दुवै मुलुकबिच थप सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

    भारतका उद्योगमन्त्री गोयलले भारतले नेपाललाई विशेष प्राथमिकता दिएको र छलफलमा उठेका अन्य जरुरी विषयलाई छिटो टुङ्गोमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसका लागि सम्बन्धित दुवै पक्षका संरचनालाई सक्रिय बनाउन उहाँले निर्देशन दिनुभयो । रासस

  • आज विश्व मधुमेह दिवस : सचेतना कार्यक्रम गरी मनाइँदै

    आज विश्व मधुमेह दिवस : सचेतना कार्यक्रम गरी मनाइँदै

    विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए । मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन् ।

    उक्त विश्व संस्थाले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । रासस